मिथ्या सूचना (अङ्ग्रेजीमा misinformation) भनेको मूलतः झूटो वा गलत वा भ्रमपूर्ण वा अनर्थरूपमा घटना, अभिव्यक्ति, तथ्याङ्क र तर्क प्रयोग गरेर वा व्याख्या गरेर समाचार वा सूचनाका रूपमा प्रकाशित आमसञ्चारका माध्यम वा सोसल मिडिया/इन्टरनेटका सामग्री हुन् ।
मिथ्या सूचना कस्ता हुन सक्छन्?
- कुनै हानि गर्ने उद्देश्य नभएका तर पाठकलाई मूर्ख बनाउन सक्ने रमाइलोका लागि तयार पारिएका व्यङ्ग्यात्मक सामग्री।
- शीर्षक वा तस्बिरसँग मूल लेखन मेल नखाने भ्रमपूर्ण सम्बन्धका आधारमा बनाइएका सामग्री।
- कुनै सूचनाको अनर्थ प्रयोग गरी कुनै विषय वा व्यक्तिबारे भ्रम सिर्जना गर्ने सामग्री।
- कुनै सही सूचना वा घटना वा अभिव्यक्ति वा समाचारलाई गलत सन्दर्भमा प्रयोग गरिएको सामग्री।
- कुनै आधिकारिक स्रोत वा व्यक्तिका नामका झुटो अभिव्यक्ति प्रयोग गरिएका सामग्री।
- कुनै तथ्य वा तथ्याङ्क वा घटना वा तर्क वा तस्बिरलाई तोडमरोड गरिएका सामग्री।
- हुँदै नभएका घटना वा तथ्य वा अभिव्यक्ति वा स्रोत प्रयोग गरिएका पूर्णरूपले गलत सामग्री।
मिथ्या सूचना कस्ता कस्ता हुन सक्छन् भनेर थाहा पाउन नेपाल तथ्यजाँचले फ्याक्टचेक गरेका सामग्रीहरू NepalFactCheck.org मा गएर हेर्न सक्नुहुन्छ।
कहाँ आउँछन् मिथ्या सूचना?
मिथ्या सूचना तपाईँले आफ्नै घरभित्र परिवारका सदस्यबाट वा सार्वजनिक स्थानमा पनि सुन्न सक्नुहुन्छ।
मिथ्या सूचना अक्षरका रूपमा वा चित्रका रूपमा वा तस्बिरका रूपमा वा भिडियोका रूपमा आउन सक्छ।
तर धेरै जनासम्म पुग्ने मिथ्या सूचना भने निम्न माध्यममा आउँछन्:
- सोसल मिडिया (फेसबुक, युट्युब, ट्विटर वा टिकटक)
- मेसेन्जर एप (ह्वाट्सएप, भाइबर, फेसबुक मेसेन्जर वा एसएमएस)
- इन्टरनेटका साइटहरू
- अनलाइन सञ्चारमाध्यमहरू
- पत्रपत्रिका वा रेडियो वा टेलिभिजन
misinformation, disinformation र malinformation
केही वर्ष अगाडिसम्म फेक न्यूज अथवा गलत/मिथ्या समाचार भन्ने शब्द पनि प्रयोग गरिन्थ्यो तर न्यूज अथवा समाचार तथ्यपरक नभई बन्दैन भन्ने पत्रकारिताको मान्यताका कारण र मिथ्या सूचनासँग जुझ्न महत्त्वपूर्ण हुने सञ्चारमाध्यमको विश्वसनीयता कम गर्न वा पत्रकारितालाई जानाजान कलङ्कित वा बदनाम गर्न प्रयोग हुनसक्ने सम्भावनाका कारण फेक न्यूज शब्द प्रयोग गरिँदैन।
समग्रमा मिथ्या सूचना बुझाउनका लागि Misinformation शब्द प्रयोग गरिन्छ भने Disinformation भन्ने शब्द जानाजान तथ्यलाई तोडमरोड गरेर वा आफ्नो अनुकूल व्याख्या गरेर कुनै हिसाबको फाइदाका लागि फैलाइएको सूचनाका लागि प्रयोग गरिन्छ।
Malinformation चाहिँ हिंसा वा हानि हुने गरी फैलाइएका मिथ्या सूचना हुन्।
कसले फैलाउँछ मिथ्या सूचना?
मिथ्या सूचना जसले पनि फैलाउन सक्छ। एक व्यक्तिदेखि चर्चित र प्रतिष्ठित व्यक्ति वा संस्थाका साथै परिचय नखुलेका व्यक्ति वा समूहसम्म एवम् सञ्चारमाध्यमले समेत यस्ता सूचना फैलाउन सक्छन्। तथ्यजाँच गर्ने संस्थाहरूले गरेका तथ्यजाँचमा नेतादेखि नागरिकसम्म सबैले मिथ्या सूचना फैलाएको पाएका छन्।
कतिपय अवस्थामा विज्ञ भनिएका वा दाबी गर्ने व्यक्तिहरू, नेता र कार्यकर्ताहरू, प्रधानमन्त्री र मन्त्रीहरू, चिकित्सक, शिक्षक र पत्रकार सबैले जानाजान वा अनजानमा मिथ्या सूचना फैलाइरहेका हुन सक्छन्। त्यसैले मिथ्या सूचनाको सन्दर्भमा स्रोतका आधारमा विश्वास गर्नुभन्दा पनि सूचनाको तथ्यताको आधारमा विश्वास गर्नुपर्ने हुन्छ।
मिथ्या सूचना कतिपय अवस्थामा अनजानमा फैलाइरहेको हुनसक्छ भने कतिपय अवस्थामा जानाजान फैलाएको हुनसक्छ। उदाहरणका लागि कोभिड महामारीको बेला सङ्क्रमितलाई विभिन्न औषधिहरू खाँदा सहयोगी हुने भनी व्यक्तिले मात्रै होइन, नगरपालिकाजस्ता निकायहरूले पनि सामाजिक सञ्जालमा सूचना राखेका थिए। त्यस्ता सूचना राख्नेहरूले त्यो जानकारीलाई सही ठानी त्यसले अन्यलाई सहयोग होस् भनी राखेका थिए र कसैलाई हानि गर्ने उद्देश्य थिएन।
कतिपय अवस्थामा भने मिथ्या सूचनाहरू आफ्नो फाइदाका लागि फैलाइन्छ। उदाहरणका लागि आफ्नो वेबसाइटमा बडी भिजिट हुन्छ वा यूट्युबबाट धेरै आम्दानी हुन्छ भनेर जानाजान मिथ्या सूचनामा आधारित सामग्रीहरू प्रकाशन गरिएका छन्। कतिपय अवस्थामा आफ्नो प्रतिस्पर्धी व्यक्ति वा संस्था वा व्यवसायलाई बदनाम गरी आफूलाई फाइदा हुने अवस्था सिर्जना गर्न पनि मिथ्या सूचनाहरू फैलाइएका छन्।