निर्वाचित भएका तथा नभएका सार्वजनिक पद धारण गर्ने व्यक्तिहरूले रेडियो, टेलिभिजन, पत्रपत्रिका, अनलाइन र सामाजिक सञ्जालमा दिएका अभिव्यक्ति, सामाजिक सञ्जालमा भाइरल भएका तस्बिर र अफवाहको तथ्यजाँच गर्ने संस्था साउथएशियाचेकले निम्न विधि प्रयोग गरेर तथ्यजाँच गर्छ:
पहिलो कदम: कुनै अभिव्यक्ति उल्लेख गरिएको व्यक्तिले साँच्चै दिएको हो कि उसले दिएको भनी अरूले यसै राखिदिएको हो थाहा पाउन अभिव्यक्तिको अडियो अथवा भिडियो खोजिन्छ।
अभिव्यक्ति दिनेले उसको सामाजिक सञ्जालको अकाउन्टबाट त्यस्तो अभिव्यक्ति दिएको रहेछ भने त्यसलाई पनि उसले दिएको अभिव्यक्ति मानिन्छ। आवश्यक परेमा अभिव्यक्ति दिएको भनिएको व्यक्तिलाई सम्पर्क गरेर त्यस्तो अभिव्यक्ति दिएको हो कि होइन भनी सोध्न पनि सकिन्छ।
अभिव्यक्ति दिएको हो भन्ने निश्चित भइसकेपछि त्यो अभिव्यक्तिमा प्रयोग भएका आँकडा कति महत्त्वपूर्ण वा कति संवेदनशील छन् भनी हेरिन्छ। महत्त्वपूर्ण र संवेदनशील छ भने त्यसको तथ्यजाँच गरिन्छ।
दोस्रो कदम: अभिव्यक्तिमा प्रयोग भएका आँकडा सही छन् कि छैनन् भन्नका लागि निष्पक्ष र ख्यातिप्राप्त संस्थाका विश्वसनीय र सार्वजनिक रूपमा उपलब्ध प्रकाशन अध्ययन गरिन्छ। उदाहरणका लागि, पहिले प्रकाशित सरकारी आँकडा, जनगणना, किताब तथा जर्नल आदि।
सार्वजनिक रूपमा उपलब्ध कागजात/तथ्याङ्क/प्रमाणका आधारमा कसैको अभिव्यक्ति सही वा गलत भनी भन्न नसकिने भएका खण्डमा तथ्यजाँच गरिँदैन। तथ्यजाँच गर्दा सही ठहरियो भने पनि सामान्यतया तथ्यजाँच प्रकाशित गरिँदैन। यदि त्यस्तो अभिव्यक्ति गलत हो भन्ने आम मानिसको धारणा छ भन्ने लागेमा र अभिव्यक्ति सही ठहरियो भने तथ्यजाँच प्रकाशित हुन्छ।
तेस्रो कदम: एक जनाले तथ्य जाँच गरिसकेपछि उसको तथ्य जाँच सही छ कि छैन भनी अर्को जनाले जाँच गरिन्छ। त्यस जाँचमा सही ठहरियो भने मात्र तथ्यजाँच प्रकाशित हुन्छ।
मिडिया र सोसल मिडियामा भाइरल भएका सूचनाहरूको तथ्यजाँच गर्ने नेपाल तथ्यजाँचले भने निम्न तरिका अपनाउँछ:
सामग्रीको छनौट
नेपाल: तथ्यजाँचले भाइरल भएका सामाजिक सञ्जाल वा सञ्चारमाध्यममा आएका जानकारी वा सूचनाको तथ्यजाँच गर्छ। सामान्यतया तथ्यजाँचकीहरूले आफैँ भेटेर छानेका वा पाठकहरूबाट अनुरोध भइरहेका सामग्रीहरूबाट स्वविवेकले छानेर तथ्यजाँच गर्छन्।
सामान्यतया स्वविवेक प्रयोग गर्दा ती भाइरल छन्/छैनन्, ती जानकारी वा समाचारले नागरिकको अधिकार वा प्रजातन्त्र वा अन्य नकारात्मक असर गर्छ/गर्दैन र ती सामग्रीको तथ्यजाँच गर्न सकिने अवस्था छ/छैन भन्ने आधारमा गर्छन्।
तथ्यजाँचकीले स्वविवेकले गर्न सक्ने जति छानेर तथ्यजाँच गर्छन्। कतिपय तथ्यजाँच भएका सामग्रीहरू प्रकाशन हुँदैन। धेरैजसो अवस्थामा तथ्यजाँचमा सही देखिएका सामग्रीका तथ्यका बारेमा सार्वजनिक वादविवाद छैन भने ती प्रकाशन गरिरहनु आवश्यक हुँदैनन्।
कसरी गरिन्छ?
तथ्यजाँचका लागि सामान्यरूपमा यीमध्ये सबै वा धेरै उपायहरू अवलम्बन गरिन्छ: इन्टरनेटमा खोजी, विज्ञहरूसँग सरसल्लाह, सम्बन्धित व्यक्ति वा निकाय वा संस्था वा समूहसँग जानकारी, प्रमाण (अडियो, भिडिओ वा दस्ताबेज, अध्ययन/अनुसन्धान वा तथ्याङ्क) को खोजी, आधिकारिक स्रोतको खोजी। इन्टरनेटमा खोजी गर्नका लागि विभिन्न उपकरण र सफ्टवेयरहरू प्रयोग गरिन्छ।