कुनै पनि सामग्री मिथ्या सूचना हो कि होइन भनेर चिन्न तथा पहिचान गर्न सजिलो छैन किनभने मिथ्या सूचना तयार गर्नेहरूले सकेसम्म त्यो सामग्री विश्वसनीय देखाउने प्रयास गर्छन् ।
साथै मिथ्या सूचनाले हाम्रो कुनै भावनालाई तुरुन्तै जागृत बनाइदिन्छन् जसले गर्दा हामी आलोचनात्मक हिसाबले सोच्ने मौका पाउँदैनौँ।
त्यसैले कुनै पनि सूचना चाहे त्यो जोसुकै वा जुनसुकै माध्यम जुनसुकै तरिकाबाट आएको हो त्यो पढेपछि पहिलो सोच राख्ने भनेको ‘यो मिथ्या सूचना पनि हुन सक्छ’ भन्ने हो।
कुनै पनि सामग्री सही सूचना हुनका लागि त्यसमा प्रयोग गरिएका तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, स्रोत, व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत हुनु जरुरी हुन्छ । यी १० मध्ये कुनै एकमा प्रश्न गर्न सकिने अवस्थामा त्यो सामग्री मिथ्या सूचना हुने सम्भावना रहन्छ।
आम पाठकका लागि कुनै पनि सामग्रीको तथ्य, तथ्याङ्क, घटना, घटनाक्रम, उद्धृत स्रोत वा व्यक्ति, अभिव्यक्ति, तस्बिर, समय र सन्दर्भ सबै सही, पूर्ण र तर्कसङ्गत छन् कि छैनन् भनेर छिटो परीक्षण गर्नु गाह्रो कार्य हो ।
गर्ने क्षमता कम भएको अवस्थामा मिथ्या सूचना पत्ता लगाउन सजिलो छैन ।
तर केही कुरामा ध्यान पुर्याउने हो भने मिथ्या सूचना पहिचान गर्न असम्भव भने हुँदैन ।
तल उल्लिखित पक्षहरूमाथि विचार गर्ने हो भने धेरैजसो मिथ्या सूचना पत्ता लाग्छन् वा मिथ्या सूचना हुनसक्ने आधार देखिन्छन् :
१. सामग्री प्रकाशकको विश्वसनीयता : कुनै पनि सामग्री प्रकाशन भएको साइट कत्तिको परिचित हो ? मिथ्या समाचारहरू प्रायः नामै नसुनिएका वा नयाँ वा मूल सामग्री पढ्नै गाह्रो हुने गरी विज्ञापनले भरिएका वा राम्रो डिजाइन नभएका साइटमा प्रकाशित हुन्छन् । प्रकाशन वा सेयर गरिएका प्रकाशकका पुराना सामग्री हेरेर पनि ती प्रकाशनको विश्वसनीयता, आग्रह तथा पूर्वाग्रह थाहा पाउन सकिन्छ ।
२. साइटको नाम र ठेगाना : नाम चलेका मिडियाहरूको नामसँग मिल्दोजुल्दो वा झुक्याउनेखालका साइट छन् भने विश्वास गरिहाल्नु हुँदैन । कान्तिपुर र कान्तिपुर न्युज दुवै कान्तिपुर प्रकाशनकै हुँदैनन् । नागरिकन्युजडटकम र नागरिकन्युजडटब्लगडटकम एकै होइनन् । सामग्री प्रकाशित भएको साइटको ‘हाम्रो बारेमा’ पाना वा साइटको पुछारमा रहेका नाम, ठेगाना र सम्पर्क नम्बर हेरेर पनि साइटको विश्वसनीयता खुट्याउन सकिन्छ । साइट कसको नाममा र कहिले दर्ता छ भन्ने जानकारी पनि उपयोगी हुन्छ ।
२. शीर्षक र सामग्री : इन्टरनेटमा पाठक तान्न नाम चलेकै साइटले पनि झुक्याउनेखालका वा सनसनीपूर्ण वा आकर्षक शीर्षक राख्न सक्छन् । त्यसैले शीर्षक र पहिलो अनुच्छेद मात्रै पढेर विश्वास गरिहाल्नु हुँदैन । कम्तीमा ४–५ अनुच्छेद पढेर ती अनुच्छेदमा शीर्षकलाई पुष्टि गर्ने तथ्य छन् कि छैनन् विचार गर्नुपर्छ । फाइल तस्बिर नभनी पुरानो तस्बिर प्रयोग गरिएको छ वा तोडमरोड गरिएको छ भने त्यसमा पनि विचार पुर्याउनुपर्छ ।
३. लेखक वा पत्रकारको नाम : सामग्री लेख्ने/तयार पार्नेको नाम प्रायः शीर्षक तल वा सामग्रीको अन्त्यमा हुन्छ । यस्तो नाम सुनिरहेको हो वा होइन भन्ने विचार गर्न सकिन्छ । सामग्री पत्यार लाग्नेखालको छैन, लेखकको नाम पनि छैन र संवाददाता वा विशेष संवाददाता भनिएको छ भने शङ्का गर्नुपर्ने हुन्छ । नाम छ भने त्यो नामलाई गुगलमा खोजेर समाचारहरू लेखिरहेको नाम हो कि होइन भन्ने थाहा पाउन सकिन्छ ।
४. तथ्य र अभिव्यक्तिका स्रोत : सामग्रीमा उल्लिखित स्रोत र तिनका अभिव्यक्ति विश्वसनीय हुनुपर्छ । नामै नसुनेका संस्था वा व्यक्तिलाई स्रोतका रूपमा प्रयोग गर्नु वा असम्बन्धित लाग्ने स्रोतहरूको प्रयोग मिथ्या समाचारका सूचक हुन् । समाचारमा उल्लिखित विज्ञहरू वा समाचारमा प्रयोग भएका स्रोतहरूको सोसल मिडिया वा साइट हेर्न पनि सकिन्छ । नाम नखोलिएका स्रोत (जस्तै– ‘नाम नखोल्ने सर्तमा एक अधिकारी’, ‘बैठकमा सहभागी एक नेता’, ‘एक उच्च अधिकारी’, ‘हाम्रो स्रोत’ वा ‘एक विज्ञ’ आदि) प्रयोग गरिएको छ भने ती स्रोतका तथ्य र अभिव्यक्तिमा प्रश्न गर्नुपर्छ ।
५. प्रकाशकको सङ्ख्या : कुनै पनि सामग्री एक स्थानमा मात्रै प्रकाशन भएको छ र अन्य समाचार साइटमा त्यो तथ्य वा सूचना वा घटनाबारे समाचार प्रकाशन भएको छैन भने शङ्का गर्नुपर्छ । एउटै समाचार धेरै साइटमा प्रकाशित हुँदैमा पनि विश्वसनीय हुँदैनन् । कुनै पनि सामग्रीबारे आफूले पहिल्यैदेखि प्रयोग गरिरहेको मूलधारका मिडियाका साइटमा खोज्नु उचित हुन्छ । कुनै सामग्रीबारे फरक–फरक मिडियामा विरोधाभाषपूर्ण तथ्य वा सूचना देखिन पनि सक्छ ।
६. प्रकाशित मिति : कतिपय अवस्थामा पुराना समाचार गलत समय र सन्दर्भमा प्रयोग गरिएका हुन सक्छन् । कुनै पनि समाचार पढ्दा त्यसको प्रकाशित मिति हेर्नुपर्छ । अझ सोसल मिडियामा त पुराना सामग्री पनि नयाँझैँ प्रस्तुत हु्न सक्छ ।
७. पक्ष/विपक्ष वा आग्रह तथा पूर्वाग्रह : पाठकको पक्ष र विपक्ष वा आग्रह तथा अनुग्रह हुन्छन् । कुनै पनि सामग्रीले आफ्नो विचार वा पक्ष वा आग्रह वा त्यसको फाइदासँग मेल खाँदैमा त्यो सामग्री सत्य समाचार हुँदैन । निष्पक्ष भएर सामग्री पढियो भने त्यो मिथ्या हो कि होइन भन्ने थाहा पाउन सहज हुन्छ ।
त्यसैगरी सामग्रीहरू सोसल मिडियामा सेयर गर्नेको आग्रह र अनुग्रह पनि हेर्नु जरुरी छ । निश्चित दललाई समर्थन गर्ने व्यक्ति वा पृष्ठमा सोही दललाई फाइदा पुग्ने सामग्रीमात्रै सेयर गरिन्छन् । सेयर गर्ने व्यक्ति विश्वसनीय हुँदैमा सेयर गरिएका सामग्री विश्वसनीय हुँदैनन् ।
८. आलोचनात्मक दृष्टि : कुनै पनि सामग्री पढ्दा यो मिथ्या सूचना हुन सक्छ भन्नेमा सचेत हुनुपर्छ । र, सोहीअनुसार लिनु पनि पर्छ । कुनै सामग्री गज्जब छन् वा खुसी, रिस वा दुःखजस्ता मानवीय आवेगलाई तुरुन्तै जागृत गर्नेखालका छन् भने ती सामग्री शङ्कास्पद हुन्छन् । कुनै पनि सामग्री झट्ट विश्वास गर्न नसकिनेखालको वा आश्चर्यचकित पार्नेखालको वा होइन होला लाग्नेखालको वा सारै रमाइलोखालको छ भने त्यस्ता सामग्रीमा शङ्का गर्नुपर्छ । र, अन्य थप स्रोत हेरेरमात्र विश्वास गर्नुपर्छ । व्यावसायिक पत्रकार वा मिडियाले समाचारमा सामान्यतया धेरै विशेषण प्रयोग गर्दैनन् यसर्थ विशेषणको अनावश्यक प्रयोग गरिएका सामग्री मिथ्या समाचार हुने सम्भावना बढी हुन्छ ।
९. समाचारका आधारभूत तत्व : व्यावसायिक पत्रकार र मिडियाका सामग्रीमा समाचारका आधारभूत तत्व पूरा भएका हुन्छन् । कुनै पनि समाचारले पहिलो अनुच्छेदमै वा केही अनुच्छेदभित्र ६‘क’ प्रश्नको जवाफ हुनुपर्छ– के, कहाँ, कसरी, कहिले, कसले र किन । त्यसैगरी समाचारमा पक्ष छन् भने ती सबैका भनाइ हुनुपर्छ । एकतर्फी भनाइमात्रै भएका वा कुनै पक्षलाई आरोपमात्रै लगाइएका र उसका भनाइ संलग्न नगरिएका समाचारमा आधारभूत तत्व पूरा भएका हुँदैनन् ।
१०. भाषा र व्याकरण : विश्वसनीय समाचारमा ज्यादै कममात्र भाषागत वा व्याकरणका गल्ती हुन्छन् । कुनै पनि सामग्रीका भाषा र व्याकरणमा धेरै गल्ती छन् वा तिनलाई सजिलै ठम्याउन सकिन्छ भने बुझ्नुपर्छ, ती सामग्री हतारमा लेखिएको हो वा व्यावसायिक पत्रकारले लेखेको हैन अर्थात पत्रकारिताका चरणहरू पार नगरेका सामग्री हुन् जुन मिथ्या समाचारको सङ्केत हो ।
११. समाचारलाई दिइएको स्थान : कुनै सामान्य घटनालाई ठूलो स्थान वा ठूलो समाचारलाई सानो स्थान दिइएको छ भने ती सामग्रीलाई शङ्कास्पद तरिकाले हेर्नुपर्छ । महत्वका आधारमा समाचारले आफ्नो स्थान निर्धारण गर्छ । असामान्यरूपमा सानो वा ठूलो स्थान दिने काम कि अनावश्यक महत्व दिनका लागि कि त लुकाउने मनसायले गरिन्छ ।