लोकतन्त्रको जग सुसूचित नागरिकले गर्ने निर्णयमा अडेको हुन्छ र जब उनीहरूसँग भएका सूचना मिथ्या हुन्छन् भने उनीहरूले गर्ने निर्णय र त्यस निर्णयका कारण प्रणालीमा पर्ने असरका कारण लोकतन्त्र कमजोर हुन्छ।
राजनीतिक रूपमा सबै नागरिक जागरूक र सचेत हुन जरुरी हुन्छ। तर मिथ्या सूचनाका कारण राजनीतिप्रति वितृष्णा पैदा हुने, गलत विचारधाराले प्रोत्साहन पाउने, नागरिकहरू राजनीतिक रूपमा अलग हुने, राजनीतिलाई गलत तरिकाले हेर्ने, कुनै पनि राजनीतिक विषयलाई सामान्यीकरण गर्ने सम्भावना हुन्छ ।
त्यसैगरी राजनीतिक रूपमा सक्रिय नेता तथा कार्यकर्ताहरूको चरित्र हत्या हुने, बदनाम हुने, राजनीतिबाट इमानदार मानिस पाखा लाग्दै स्थिति पनि सिर्जना हुन सक्छ ।
लोकतान्त्रिक समाजका लागि स्वतन्त्र र निष्पक्ष मिडियाका साथै सत्यतथ्यमा आधारित सूचना आवश्यक पर्छ। लोकतन्त्रमा सही सूचना प्राप्त गर्नु नागरिकको अधिकार हो।
तथ्यगत सूचनाले नागरिकहरूलाई सशक्तीकरण गर्छ र ठिक वा बेठीक छुट्टाउन सक्षम बनाउँछ । राजनीतिक लगायतका अधिकारहरूप्रति सचेत गर्नुका साथै निर्णायक क्षमता बढाउँछ। नागरिकले गलत कार्यको प्रतिवाद गर्न सक्छन्।
तर मिथ्या सूचनाले गर्दा लोकतान्त्रिक मूल्यमान्यतामा अविश्वास सिर्जना हुन सक्छ।
स्वतन्त्र र निष्पक्ष निर्वाचनमा विश्वास नलाग्न सक्छ। सहभागी हुन पाउने लोकतान्त्रिक पद्धतिप्रति नागरिकहरू जागरूक नहुन सक्छन्।
आफ्नो पक्षलाई राम्रो देखाउने र विपक्षीमाथि सङ्गठित रूपमा प्रहार हुन सक्ने हुँदा दोहोरो संवाद घट्न सक्छ।
सत्तामा रहेकाले मिथ्या सूचनालाई देखाएर नागरिकको वाक तथा अभिव्यक्ति स्वतन्त्रतामा अङ्कुश लगाउन सक्छन्। मिडियाका अधिकारमा पनि अङ्कुश लगाउन सक्छन्।