मिथ्या सूचनाका नराम्रा र दीर्घकालीन असर हुन्छन्। यसले मिडियाप्रतिको अविश्वास बढाउँछ किनभने मिथ्या सूचनाका कारण मानिसहरूमा सूचनाप्रतिको अविश्वास बढ्दै जान्छ र यसले अन्ततः सञ्चारमाध्यमप्रतिको विश्वसनीयता घटाउँछ।
निर्वाचनको नतिजामा मिथ्या सूचनाले असर गर्दा वा निर्वाचित व्यक्तिबारे मिथ्या सूचना फैलँदा वा प्रजातान्त्रिक प्रणालीका महत्त्वपूर्ण अङ्गहरूबारे अविश्वास पैदा गर्छ।
मिथ्या सूचनाका कारण घृणायुक्त अभिव्यक्तिहरू प्रवाह हुने र कतिपय अवस्थामा छिमेकी भारतको उदाहरण जस्तै मिथ्या सूचना र घृणायुक्त अभिव्यक्तिका कारण हिंसा फैलिने, मानिसहरू मारिने र शान्ति अमनचैन नै खलबलिने अवस्था पनि आउँछ।
अप्रमाणित विज्ञानको प्रचार: कोरोनाभाइरस वा कोभिड खोपका बारेमा फैलिएका मिथ्या सूचनाले अप्रमाणित विज्ञानको प्रचार हुँदा मानिसहरूले खोप नलिएर जोखिममा परेका वा अनावश्यक औषधि सेवन गरेर स्वास्थ्यमा प्रतिकूल असर परेका उदाहरणहरू छन्।
मिथ्या सूचनाले जनमत निर्माण र आम मानिसको धारणा परिवर्तन गर्न सक्छ। जसले गर्दा ठिक/बेठीक छुट्ट्याउन कठिन हुन्छ। निर्णयहरू गर्दा वास्तविकतासँग मेल नखाने हुँदा गलत परिणामहरू आउन सक्छन्।
कतिपय बेला नागरिकमा अन्योल सिर्जना हुन सक्छ। त्रास फैलिन सक्छ । राजनीतिक दल, नेता लगायत प्रणाली र स्थापित सूचना प्रवाहप्रति अविश्वासको पैदा हुँदा निराशा जगाउन सक्छ ।
मिथ्या सूचनाका कारण समुदायमा गलत अजेण्डा स्थापित हुन सक्छ। जसले गर्दा समाजमा विषयवस्तुमा सही तरिकाले विचार विमर्श र संवाद नहुन सक्छ । राजनीतिक लगायत अन्य विषयमा समाजलाई अझ बढी ध्रुवीकरण गराउन सक्छ र द्वन्द्व बढ्न सक्छ।