तथ्यजाँच जसलाई अङ्ग्रेजी भाषामा फ्याक्टचेक (factcheck) भनिन्छ एउटा विशिष्ट प्रकारको अभ्यास हो जसमा उपलब्ध
- प्रमाण वा
- तथ्याङ्क वा
- वैज्ञानिक आधार बन्न सक्ने अनुसन्धान
का आधारमा कुनै समाचार वा जानकारी तथ्यगत भए नभएको परीक्षण गरिन्छ।
तथ्यजाँचका लागि सामान्यरूपमा यीमध्ये सबै वा धेरै उपायहरू अवलम्बन गरिन्छ:
- इन्टरनेटमा खोजी,
- विज्ञहरूसँग सरसल्लाह,
- सम्बन्धित व्यक्ति वा निकाय वा संस्था वा समूहसँग जानकारी,
- प्रमाण (अडियो, भिडिओ वा दस्ताबेज, अध्ययन/अनुसन्धान वा तथ्याङ्क) को खोजी,
- आधिकारिक स्रोतको खोजी।
इन्टरनेटमा खोजी गर्नका लागि विभिन्न उपकरण र सफ्टवेयरहरू प्रयोग गरिन्छ।
तथ्यजाँचको नतिजा तथ्यमा भर पर्छ।
कुनै कुराको अनुपलब्ध हुनु भनेको त्यो मिथ्या हुनु नहुन सक्छ वा तथ्यजाँच गर्दा फेला पार्न नसकिएको पनि हुनसक्छ।
तथ्यजाँच सिद्धान्तमा जसरी कुनै प्रमाणविना कुनै जानकारी तथ्य हुन सक्दैन, त्यसैगरी मिथ्या हो भनी प्रमाण नभएका कुरा मिथ्या हुन सक्दैनन्।
तथ्यजाँच किन आवश्यक छ?
मिथ्या सूचनाले दिने झुटो जानकारीले नागरिकलाई गलत निर्णय गर्न प्रेरित गर्छ। प्रजातन्त्रको आधार भनेको नागरिकको मत हो यसर्थ प्रजातन्त्रलाई बलियो बनाउन मिथ्या सूचनाबाट जोगिन जरुरी हुन्छ। त्यस्ता सूचनाले नागरिकको अधिकार वा प्रजातन्त्र वा अन्य नकारात्मक असर गर्छ। यसर्थ तथ्यजाँच आवश्यक छ।
तथ्यजाँचको उद्देश्य कसैमाथि दोष थोपर्ने नभई सञ्चारमाध्यम, सोसल मिडिया प्रयोगकर्ता र आमनागरिकलाई मिथ्या सूचना वा भ्रामक सूचना वा अपुष्ट सूचनाबारे सचेत बनाउने हो।
के सबै सूचना तथ्यजाँच गर्न सकिन्छ?
केही सूचनाहरू तथ्यजाँच गर्नु पर्ने र गर्न सकिने हुन्छ।
कतिपय सूचनाहरू तथ्यजाँच गर्न आवश्यक हुन्न।
कतिवय सूचना तथ्यजाँच गरेर पनि निष्कर्षमा पुग्न सकिन्न।