अमेरिकामा सन् २०१६ को राष्ट्रपतीय निर्वाचनमा आमअपेक्षा विपरित अप्रत्याशितरूपमा डोनाल्ड ट्रम्प विजयी भएपछि त्यसको एक कारक मिथ्या सूचना र त्यसको व्यापकतालाई लिइएको छ।
आमनागरिक, समाज र राजनीतिमा विशेष प्रभाव देखिन थालेपछि यसको चर्चा एकाएक बढ्न पुगेको हो। यसमा फेसबुक, ट्विटरजस्ता सोसल मिडियाको विशेष भूमिका थियो।
मिथ्या सूचना जुनसुकै विषयमा पनि हुन सक्छ तर विश्वभर निर्वाचनका क्रममा मिथ्या सूचनाको प्रयोग बढ्दो छ। त्यसलाई इन्टरनेटले थप सहज पारिदिएको छ।
मिथ्या सूचनाको प्रयोग पत्रकारिता सुरु हुनुभन्दा धेरै पहिलेदेखि नै भएको पाइन्छ।
महाभारत युद्धमा द्रोणाचार्यलाई पराजित गर्न फैलाइएको अश्वत्थामा मृत्युको खबरदेखि पछिल्लो समयमा पीत पत्रकारिता वा प्रोपगन्डा भनिएका सबै सञ्चार सामग्रीलाई मिथ्या सूचनाका रूपमा लिन सकिन्छ।
आमसञ्चार साधनको विकासका कारण मिथ्या सूचना धेरै जनताबीच पुग्न सहज भएको हो। इन्टरनेटको विकास र विशेषगरी आममानिसले सहजरूपमा सामग्री प्रकाशन र वितरण गर्न सक्ने सोसल मिडियाको विस्तारका कारण मिथ्या सूचनाको प्रयोग अझ बढी सहज र धेरैबीच पुग्न सक्ने भएको छ।